प्रधानमन्त्रीलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’
काठमाडाैँ -नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र साहलाई विधि, लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने कार्य नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने तर लोकतान्त्रिक व्यवस्था र संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने बताउनु भयो ।
सांसद काउचाले प्रधानमन्त्री सत्तापक्षको मात्रै नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गर्दै संसद्मा दैनिक उठिरहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको राजनीतिक साखमा असर पारेकोतर्फ समेत ध्यानाकर्षण गराउनु भयो ।
उहाँले प्रधानमन्त्री साहको फेसबुक स्टाटसलाई लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको भन्दै कालो चस्मा खोल्न समेत आग्रह गर्नुभयो । उहाँले संसद्को अभिलेखमा रहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन किन कठिनाइ भइरहेको ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म यो सदनबाट प्रधानमन्त्रीज्यूलाई स्पष्टसँग भन्न चाहन्छु, कालो चस्मा खोल्नुस् तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन । प्रधानमन्त्रीज्यू तपाईं मान्नुस् या नमान्नुस् तपाईं सत्तापक्षको मात्रै प्रधानमन्त्री होइन । तपाईं हामी सबै नेपालीको प्रधानमन्त्री हो । त्यसैले प्रश्न गर्न चाहन्छु, दैनिक सदनमा उठिरहेको सीमासम्बन्धी विवादस्पद अभिव्यक्तिको प्रश्नले तपाईंको राजनीतिक साखमा असर परेको अझै महशुस गर्नुभएको छैन ? संसदको रेकर्डमा रहको अभिव्यक्तिलाई सच्याउन पनि कि यति कठिनाई भइरहेको छ ? प्रतिपक्ष प्रधानमन्त्रीको अपमान गर्दैन, हामी तपाईंको ओझ घटाउन होइन अझै बढाउन खोजिरहेका छौँ । प्रधानमन्त्रीज्यूको पछिल्लो कार्यशैलीले मुलुकको सन्दर्भमा अन्तर्राष्ट्रि प्रतिष्ठामाथि प्रश्न उठ्नु दुःखद् हो ।’
सांसद काउचाले प्रतिपक्षले सरकारको घेराबन्दी गर्न नभई जवाफदेही बनाउन खोजिरहेकोबारे पनि स्पष्ट पार्नुभयो ।







-52.jpg)











