प्रेस चौतारीको अध्यक्ष पाण्डेलाई र महासचिव अधिकारीलाई बनाउने ओलीको तयारी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीनिकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीलाई बनाउने तयारी गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले जनसंगठन प्रमुख भानुभक्त ढकाल, पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, प्रेस चौतारी अध्यक्ष गणेश बस्नेतलगायत नेताहरूलाई केही दिनअघि बालुवाटार बोलाएर प्रेस चौतारीको नेतृत्व सहमतिमा टुंग्याउन निर्देशन दिएका थिए।
ओलीको उक्त निर्देशनपछि गणेश पाण्डेले प्रचार विभागको सचिवबाट राजीनामा दिइसकेका छन् । उनले शुक्रबार नै पदबाट राजीनामा पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएका छन् । पाण्डे गत फागुन १८ गते सचिवालय बैठकबाट प्रचार विभाग सचिव मनोनीत भएका थिए ।
प्रेस चौतारीको दसौं अधिवेशन चैत १० देखि १२ गतेसम्म विराटनगरमा हुँदैछ । चौतारीका नेताहरूले आगामी नेतृत्वका लागि आकांक्षा प्रकट गरिरहँदा पार्टी नेतृत्वले महाधिवेशन सुरू हुनुअगावै अध्यक्ष र महासचिवको टुंगो लगाउने तयारी गरेका छन् ।
अध्यक्षका दाबेदारमा राजेस राई, हिरामान लामा र विश्वमणि सुवेदी लगायत छन् ।
