काठमाण्डौ उपत्यकासहित देशभरका मुख्य शहरमा रगतको अभाव
काठमाण्डौ । मागअनुसार रगत सङ्कलन हुन नसकेपछि काठमाण्डौ उपत्यकासहित देशभरका मुख्य शहरमा रगतको अभाव भएको छ । बाढी, पहिरोबाट घाइते भएकाहरू र डेङ्गीलगायत रोगका बिरामी बढेका कारण अहिले अस्पतालमा रगतको माग उच्च भएको हो । तर यही बेला मुख्य चाडपर्व परेका कारणले रक्तदान गर्ने दाताको सङ्ख्या केही घटेकाले रगतको माग धान्न मुश्किल परेको ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) का अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा काठमाण्डौले हप्तामा आठ सयदेखि एक हजार युनिट रगत सङ्कलन गर्ने गरेको थियो । तर दशैँको बिदामा काठमाण्डौ उपत्यकामा मानिसको सङ्ख्या कम भएका कारण रगत सङ्कलनमा समस्या भएको ब्लोदानका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँले दैनिक रूपमा तीन सय युटिनसम्म रगतको माग भए पनि अहिले एक सय ८० युनिटसम्म मात्र रगत सङ्कलन भइरहेको जानकारी दिनुभयो । आजदेखि दशैँ बिदा सकिएकाले अबको केही दिनमा रगतको आपूर्ति सहज हुने सम्बन्धित निकायको विश्वास छ । गएको असोज १०, ११ र १२ गते देशभर परेको ठूलो वर्षा र लगत्तै दशैँ पर्व परेकाले रगतको सङ्कलन केही घटेको हो ।
दशैँका बेला हप्तामा मुश्किलले चार सय युनिट मात्र रगत सङ्कलन हुने गरेको रक्त सञ्चार सेवाले जनाएको छ । डेङ्गी र प्राकृतिक विपद्का कारण माग बढेका बेला रगत कम सङ्कलन भएकाले माग धान्नै नसकिने अवस्था आएको केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक डा. पवन गुप्ताले बताउनुभयो । रक्त सञ्चार सेवाले बाढी, पहिरो र डुबानका कारण आफ्ना नियमित क्याम्प पनि सञ्चालन गर्न सकेको थिएन । त्यसमाथि चाडपर्वको बेला विगतमा पनि रगतको अभाव हुने गरेकोमा यसपालि अलि धेरै समस्या भएको जनाएको हो ।

.gif)