दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
स्मार्ट टेलिकम प्रकरण
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार ललितपुरको धापाखेलबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका अनुसार भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्ति सरकारको हकबाट बाहिरिने गरी बेइमानीपूर्ण गतिविधि गराएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमति २०७० वैशाखमा पाएको थियो। तर तोकिएको समयमा अनुमतिपत्र नवीकरण नगरेपछि कम्पनीको लाइसेन्स स्वतः खारेज भएको थियो।
लाइसेन्स खारेज भएपछि स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा नेटवर्क प्राधिकरणको स्वामित्वमा आउनुपर्ने कानुनी व्यवस्था थियो। कम्पनीको व्यवस्थापन तथा सम्पत्ति नियन्त्रणमा लिन सरकारले नियमावली बनाएर प्राधिकरणमार्फत प्रक्रिया अघि बढाएको थियो।
यसै प्रकरणमा सीआईबीले गत वैशाखमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
















