महोत्तरीमा दुई मोटरसाइकल ठोकिँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु
काठमाडौं । महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु र थप तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टका अनुसार मृतक तथा घाइतेको हालसम्म पहिचान खुल्न सकेको छैन्
जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकापसमा ठोक्किएका थिए । ठोक्किएसँगै दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत नदेखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मृतक तथा घाइतेहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
