sevenstartv.com २० वैशाख २०८३, आइतवार

चुनावले बढायो वैदेशिक व्यापार, चालू आवको सात महिनामा १२ खर्ब ९१ अर्बको व्यापार

माघमा वर्षकै उच्च कीर्तिमान, व्यापार घाटा ९ खर्ब ५५ अर्ब

९ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा बढेको राजनीतिक चहलपहलसँगै व्यापार पनि बढ्दै गएको छ । पुसदेखि नै चुनावलक्षित सामग्री आयात हुन थालेको छ । गाडीलगायत निर्वाचनसँग सम्बन्धित सामग्री ठुलो परिमाणमा भित्रिएका छन् । पछिल्लो समय चुनावलक्षित वस्तु आयात भएका छन् । चुनावलक्षित सामग्रीमा गाडीको हिस्सा धेरै छ । विभिन्न देशले दिएका सहयोग प्राप्त भएका छन् । चुनावलाई आवश्यक पर्ने अन्य सामग्री पनि आयात भएका छन् । 

त्यसले गर्दा आयात बढाउन केही सहयोग पुगेको छ । आयात बढे पनि यसले राजस्वमा भने खासै योगदान गरेको छैन । चुनावलक्षित सामग्री कर छुटमा ल्याइएको छ । चुनावलाई लक्षित गरेर भारतले ठुलो संख्यामा गाडी सहयोग गरेको छ । त्यस्ता गाडी भन्सार प्रणालीबाटै आयात भएको देखिए पनि कर छुट हुने गर्छ । चालू आर्थिक वर्षको सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोडको वैदेशिक व्यापार भएको छ । सो अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोडको आयात हुँदा निर्यात भने एक खर्ब ६८ अर्ब १४ करोडको मात्र छ । माघमा एक खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भई चालू आर्थिक वर्षकै उच्च कीर्तिमान बनेको छ । तर, आयात उकालो लाग्दा पनि राजस्वमा भने अपेक्षित सुधार देखिएको छैन । 

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनामा एक खर्ब ८४ अर्ब ४६ करोड ३३ लाख ३० हजार रुपैयाँबराबरको वस्तु आयात भएको छ । विभागको तथ्यांकअनुसार साउनमा एक खर्ब ४३ अर्ब चार करोड ६ लाख, भदौमा एक खर्ब ६२ अर्ब ११ करोड ४४ लाख, असोजमा एक खर्ब ६२ अर्ब ९२ करोड ८२ लाख, कात्तिकमा एक खर्ब ४१ अर्ब ३६ करोड ७९ लाख, मंसिरमा एक खर्ब ५६ अर्ब ७३ करोड ७९ लाख र पुसमा एक खर्ब ७२ अर्ब ८३ करोड ३६ लाख रुपैयाँको वस्तु आयात भएको थियो । चालू आवको सात महिनामा आयातित वस्तुबाट दुई खर्ब ८० अर्ब ७६ करोड ७८ लाख रुपैयाँ राजस्व उठेको छ । भन्सार विन्दुमा भ्याटसहित विभिन्न शीर्षकमा कर असुली गरिन्छ । 

चालू आवको पहिलो सात महिनामा समग्र आयात १३.६५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको थियो भने चालू आवमा बढेर ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा नेपालको वस्तु निर्यात भने ३२.१९ प्रतिशतले बढेको छ । गत आवको पहिलो सात महिनामा एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो । चालू आवको सात महिनामा एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्