बुधबार देशैभर वर्षा र हिमपात हुने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभरको मौसम प्रतिकूल हुने जनाएको छ । सोमबार मौसम सामान्यतया सफा रहे पनि मंगलबार र बुधबार पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार सोमबार दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्नेछ । देशका हिमाली भू(भागमा आंशिक बादल लागे पनि बाँकी भू भागमा मौसम मुख्यतया सफा रहनेछ । सोमबार राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागमा बादल लाग्नेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति नै हल्का हिमपात वा वर्षाको सुरुवात हुन सक्नेछ ।
मंगलबार दिउँसोबाट मौसममा पश्चिमी वायुको प्रभाव थप देखिनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा बादल लाग्ने र थोरै स्थानमा हल्का हिमपात वा वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिमका बाँकी भू(भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। मंगलबार राति मौसम थप खराब हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू(भागमा बादल लाग्नेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपात वा वर्षा हुनेछ भने पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना छ ।
तराईका थोरै स्थानमा हल्का वर्षा र लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्न सक्ने महाशाखाले जनाएको छ । बुधबार भने मौसम प्रणाली देशभर फैलिनेछ। बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्ने र सबै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा बाँकी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
