उत्तरी चीनतर्फका थप नाकाहरू खुलाउने तयारी
काठमाडौं । सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने गरी गृहकार्य गरेको छ । सरकारले कोरोला, किमाथाकासहितका नाकाहरु खुलाउनका लागि गृहकार्य थालेको हो ।
तातोपानी, रसुवागढी नाकामा खासगरी बर्खायाममा निकै समस्या आउन थालेपछि अन्य वैकल्पिक नाकाहरुमा संरचना तयार गरेर भन्सार बिन्दुहरु विस्तार गर्ने काम भइरहेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताए । उनले तातोपानी र रसुवागढी नाकाको भर हुन छाडेपछि कोरला, किमाथांकासहितमा संरचनाहरु बनाएर पूर्ण रुपमा संचालनमा ल्याउने तयारी भएको जनाए । महानिर्देशक भण्डारीकाअनुसार जनावरी १ देखि रसुवाको नाका सञ्चालनमा आएको छ ।
रसुवा नाकामा गत असार २६ गतेको बाढीले बन्द भएको थियो । तातोपानीमा पनि पहिरो गएर बाटो अबरुद्ध हुँदा बर्खायाममा उक्त नाका संचालनमा आउन सकेको थिएन । वैकल्पिक रुपमा कोरोला नाका संचालनमा ल्याइएको थियो । सोही नाका हुँदै २ हजार भन्दा बढी इभी गाडीहरु जाँचपास गरेर व्यवसायीहरुले भित्राएका थिए । ११७ ओटा कन्टेनरबाट १९ करोडको निकासी भएको थियो । दशैँ लक्षित समानहरु ल्याउन महत्वपूर्ण बनेको कोरोला नाकामा थप सुविधासम्पन्न पूर्वाधारहरु बनाएर संचालनमा ल्याउन लागिएको हो ।
