४ महिनामा विदेशमा रहेका नेपालीले पठाए झण्डै ७ खर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणले कात्तिक महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ३३ अर्ब ८२ करोड रहेको देखाएको हो ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १४ अर्ब ३१ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १,४५,९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १,२७,८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,४७,४७८ र ९४,१०५ रहेको थियो ।
३० खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तमा ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा कात्तिक मसान्तमा २५.८ प्रतिशतले वद्धि भई ३ खर्ब ३० अर्ब ८५ करोड कायम भएको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

.gif)