नेपाल टेलिकमको आय र मुनाफा घट्यो
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमको आय र मुनाफा घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको आय, मुनाफा तथा अन्य वित्तीय सूचकहरू गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका हुन् ।
कुल सञ्चालन आय यो त्रैमासिकमा ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिभन्दा ६ लाख ७१ हजार रुपैयाँ कम हो । त्यस्तै, कम्पनीको कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको पहिलो त्रैमासिकको तुलनामा ५९ करोड २६ लाख रुपैयाँले घटेको छ ।
आयमा गिरावटसँगै टेलिकमको नाफा पनि कम भएको छ । उक्त अवधिमा कम्पनीको करअघिको आम्दानी ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँमा सीमित रह्यो, जुन गत वर्षको सोही अवधिभन्दा १२.२९ प्रतिशतले कम हो । करअघि नाफा १८.९ प्रतिशतले घटेर २ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । पहिलो त्रैमासिकमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ मात्र रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ४१ करोड ४४ लाख रुपैयाँले घटेको छ । प्रति शेयर आम्दानी पनि घटेर २९ रुपैयाँ ४५ पैसा पुगेको छ ।
विश्वभर ओटीटी सेवाको बढ्दो प्रयोगका कारण विदेशबाट आउने कलमा उल्लेखनीय कमी आउँदा राजस्व तथा नाफामा गिरावट आएको कम्पनीको बुझाइ छ । अन्तरआवद्धता राजस्व मात्र करिब १० करोड ९७ लाख रुपैयाँले घटेको छ । त्यस्तै, बैंकिङ बजारमा व्याजदर घटेपछि मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी ५० करोड रुपैयाँले घटेको टेलिकमले जनाएको छ ।
कर्मचारी खर्च पनि बढेको देखिन्छ। कर्मचारी बीमा खर्च बढ्नुका साथै, अघिल्लो वर्ष ७.५ प्रतिशत रहेको छुटदर घटेर ७ प्रतिशतमा आउँदा पेन्सन तथा अवकाश सम्बन्धी दायित्व बढेको कम्पनीले उल्लेख गरेको छ । यस कारण मात्र कर्मचारी खर्चतर्फ करिब ८.८ करोड रुपैयाँ अतिरिक्त बढेको छ ।
राष्ट्रको सञ्चार सेवा प्रदान गर्ने संस्थाका रूपमा टेलिकमले दुर्गम र विकट क्षेत्रमा समेत सेवा विस्तारमा निरन्तर लगानी गर्दै आएको छ । कम प्रतिफल र उच्च लागतका बीच पनि सेवा सुधार तथा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएकाले खर्च बढ्न गएको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ ।
