sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

जेनजी आन्दोलनबाट बागमती प्रदेश सभामा ३५ करोड बराबरको क्षति

४ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडामा जेन–जी आन्दोलनबाट प्रदेश सभा भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । प्रदेश सभाको हालै सञ्चालनमा ल्याइएको अस्थायी भवन र पुरानो भवन दुवै जेनजीको निशानामा परेको थियो । प्रदेश सभा भवन क्षतिग्रस्त हुँदा ३० देखि ३५ करोड बराबरको क्षति भएको आकलन गरिएको छ ।

हेटौँडामा रहेका अन्य सरकारी संरचना, मन्त्रालय तथा कार्यालयमध्ये सबैभन्दा ठुलो क्षति प्रदेश सभा भवनमै भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।आगजनीबाट पाँच वटा भवन, ३ वटा चार पाँग्रेगाडी, ६ वटा दुई पाँग्रे मोटरसाइकल र कार्यालयका सबैजसो सामानमा क्षति पुगेको बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले बताएका छन् । भवनका ढोका, झ्याल, बैठक कक्ष, अभिलेख कोठा लगायतका महत्वपूर्ण संरचना ध्वस्त भएको जनाइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको छ ।

त्यस्तै प्रदेश सभासँगै रहेका काँग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । दलका अभिलेख, कागजात र उपकरणमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । आन्दोलनकै क्रममा प्रदेशसभाभित्र र वरपर रहेका सवारीसाधनमा पनि आगजनी गरी क्षति पुर्‍याइएको छ । १२ करोड २९ लाख लागतमा निर्माण गरिएको बागमती प्रदेश सभाको नयाँ भवन गत २७ साउनमा मात्र औपचारिक रूपमा उद्घाटन गरिएको थियो । निर्माण सुरु भएको २०७७ मङ्सिर १० गते शिलान्यासबाट सुरु भई करिब सात वर्षमा सम्पन्न भएको भवनमा जम्मा तीन वटा बैठकहरू मात्र सम्पन्न हुन पाएका थिए ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्