म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
काठमाडौं । गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रकाअनुसार आव २०८१/८२ मा यहाँबाट ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।
गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम रु ३५ का दरले बिक्री हुँदा रु ६० करोडको कारोबार भएको छ । एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले आलु उत्पादन भएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार सात सय ८१ दशमलव तीन मेट्रिक टन सुन्तला प्रतिकिलो रु ८० का दरले ३३ करोड ४६ लाख ७० हजारमा बिक्री भएको छ ।
म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोग कीराको समस्या नदेखिएकाले आलु र सुन्तलाको उत्पादन बढेको छ । आव २०८०र८१ मा एक हजार सात सय ५० हेक्टरमा ३१ हजार चार सय ५० मेट्रिक टन आलु र रु २४ करोड बराबरको तीन हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् ।
सवारी साधनको पहुँच पुगेपछि गाउँ गाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तला खेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन् । खायन आलु कार्यक्रममार्फत तीन वटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रीकरण, सिँचाइ पूर्वाधार, ‘प्याकेजिङ’ र ढुवानीका लागि रु ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।
यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि रु छ लाख र सुदृढीकरणका लागि रु १९ लाख ८० हजार बजेट प्राप्त भएको छ । जिल्लामा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिका–९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । यस वर्ष पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा रु ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि रु १६ लाख ६८ हजार बजेट प्राप्त भएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले जानकारी दिए ।

.gif)