sevenstartv.com ११ असार २०८३, बिहिवार

प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाँने

२९ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन् । भदौ १८ सम्म चार दिने चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले १८ गते चिनियाँ राष्ट्रपतिसँग पनि भेटघाट गर्ने भएका हुन् ।

यही अगस्त ३१ देखि सेप्टेम्बर १ सम्म चीनको तियानजिन शहरमा आयोजना हुन लागेको सांघाई अर्गनाइजेशन (एससीओ) को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री चीन जान लागेका हुन् । सम्मेलनलाई प्रधानमन्त्री ओलीले विशिष्ट वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली सेप्टेम्वर ३ मा अर्थात् भदौ १८ मा राष्ट्रपति सी जिनपिंगले आयोजना गर्ने दिवा भोजमा सहभागी हुने र सोही दिन काठमाडौँ फर्कने कार्यक्रम रहेको जनाइएको छ।

परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले प्रधानमन्त्री ओलीको भ्रमणको तयारी तीव्र पारेको छ। नेपाल सन् २०२० देखि एससीओको संवाद साझेदारको रूपमा रहँदै आएको छ । एससीओमा बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० देश छन् । एससीओमा नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेयिबा र युएईसहित १४ देशहरू संवाद साझेदार हुन्। एससीओको शिखर सम्मेलनमा नेपालबाट पहिलो पटक उच्चस्तरको सहभागिता हुन लागेको हो ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन्। सोही सम्मेलनमा मोदीसँग पनि भेट गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले उल्लेख गरेको छ।  सम्मेलनमा चीनले मोदीको सहभागितालाई उच्च प्राथमिकता दिएको छ। यसका साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी हुनेछन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्