प्रधानमन्त्री ओली र देउवाको आदेशमा काउन्सिलको पहिलो महिला अध्यक्ष बन्दै अधिकारी
काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षका लागि विभिन्न व्यक्तिहरुको चर्चा रहेपनि नेपाली कांग्रेससम्वद्ध प्रेस युनियनकी नेत्री बाला अधिकारीलाई नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
दुई महिनादेखि नेतृत्वविहीन रहँदै आएको काउन्सिलमा अधिकारीलाई लैजाने सहमति जुटे सँगै प्रेस काउन्सिलले पहिलो पटक महिला अध्यक्ष पाउने भएको हो । पूर्वप्रधामन्त्री शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको आपसि सहमतिकाबीच अधिकारीलाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने तयारी रहेको संचार मन्त्रालयको एक स्रोतले पुष्टि गरेको छ ।
बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल सकिएसँगै गत जेठदेखि काउन्सिलमा अध्यक्ष पद रिक्त रहेको थियो । नयाँ अध्यक्षका लागि कांग्रेस र एमालेनिकट पत्रकारहरूले आ-आफ्नो च्यानलबाट लबिङ गरिरहेका भएपनि अन्तिम चरणमा अधिकारी बन्ने पक्का भएको छ । एमालेबाट निवर्तमान अध्यक्ष बालकृष्णसहित गोपाल खनाल,अखण्ड भण्डारी,तीर्थ कोइराला,रघु मैनालीको नाम चर्चामा थिए । यिनै पाँच मध्येबाट एक जनाले अध्यक्षमा बाजी मार्ने आकलन धेरैले गरे पनि बाला अधिकारी अध्यक्षको कुर्सी नजिक पुगेको उच्च स्रोतको दाबी छ ।
अन्ततस् एमाले उपमहासचिवले नेतृत्व गरिरहेको मन्त्रालयले कांग्रेससम्वद्ध प्रेस युनियनकी नेत्रीलाई अध्यक्ष बनाउनेगरी क्याबिनेटमा प्रस्ताव लगिसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । पत्रकार महासंघको पूर्व कार्यवाहक अध्यक्षसमेत रहेकी अधिकारीको नाममा क्याबिनेटले निर्णय गरे प्रेस काउन्सिलको नेतृत्व गर्ने पहिलो महिलाको रेकर्ड रहने पक्का छ ।
