मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको प्रधानमन्त्री ओलीको भनाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको बताएका छन् ।
सोमबार च्यासलमा मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कतिपय नेताका नामका प्रतिष्ठानहरू सामूहिक हुनुपर्ने भन्दै कतिपय प्रतिष्ठान पछि व्यक्तिको कब्जामा जाने गरेको बताएका हुन् ।
‘पार्टीले नै पुष्पलाल र मनमोहन लगायत अन्य प्रतिष्ठान स्थापना गर्यो । पहिला पहिला प्रधानमन्त्री भएपछि भ्याउँदैन भनेर चेन्ज गर्ने छँदै थियो । पछि केही व्यक्तिहरूले छाड्दै नछाडेर त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरूलाई ग्रिपमा लिएर कब्जा गर्ने’, उनले भने, ‘परिवर्तनको पक्षमा लाग्ने होइन कि व्यक्तिको ठगी खाने भाँडो भन्ने कि ।’
उनले आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने हेर्नुपर्ने भन्दै चक्रपथ भन्ने अनलाइनको प्रस्तुति हेर्दा अन्योल रहेको बताए । मदन भण्डारी फाउन्डेसनको संरक्षक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी छन् भने अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी छन् ।
