काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेपछि राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले खरेललाई संगठनका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै एक वर्षका लागि निलम्बन गरेको हो ।
महासचिव रमेश चौलागाईँले जारी गरेको पत्रमा खरेललाई स्पष्टीकरण मागिएकोमा गैरजिम्मेवार र अराजक जवाफ पठाएको र केन्द्रको निर्देशनविपरीत प्रदेश कमिटीको बैठक खारी मनोमानी गरेको उल्लेख छ ।
उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको, सामाजिक सञ्जालमा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध नभएको भन्दै इमेलमार्फत जवाफ फर्काएका थिए ।
खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त गर्नुपर्ने तर्क गर्दै सम्मानसहित पार्टी नेतृत्व परिवर्तनको कुरा सामाजिक सञ्जालमार्फत उठाउँदै आएका थिए ।
