राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल चयन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष चयन गरेको छ । शुक्रबारको बैठकले ढकाललाई सर्वसम्मत अध्यक्ष चयन गरेसँगै उनले पदभारसमेत ग्रहण गरेका छन् ।
ढकालसँग नेपाल राष्ट्र बैङ्कमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैङ्कको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैङ्किग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार हुन् ।
२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कले अहिले तीन सय नौ वटा शाखा कार्यालयमार्फत ७७ वटै जिल्लामा करिब ४७ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । बैङ्क आफ्नो सेवालाई समय सापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैङ्किग सेवा विकासमा केन्द्रित रहेको छ ।
