कीर्तिपुर क्रिकेट निर्माण ठेकेदारलाई जरिवाना
काठमाडौँ । कीर्तिपुरको त्रिविस्थित क्रिकेट मैदानमा स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम समयमै नसक्दा ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ ।
सम्झौताअनुसार योजनाको कूल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । हर्जना दैनिक २ लाख रुपैयाँ भन्दा बढी हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।
मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए । प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।
यसरी हर्जना तिरेर बढीमा २ सय दिनसम्म अर्थात आयोजनको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था रहेको छ । त्यस अवधिमाा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने व्यवस्था छ । तर, निर्माण कम्पनीले १ महिनामा काम सक्ने प्रतिवद्धता जनाएको छ । ४ हजार कुर्सि फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ ।
प्यारापिटतर्फ वित्तिय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ । फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तिय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।

.gif)