राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लाग्न थाल्यो : सांसद् घिमिरे
काठमाडौं । नेकपा एमाले सांसद् वासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताएका छन् । बुधबारको समितिको बैठकमा उनले कुलिङ पिरियडमा भएको चलखेलका कारण सांसद्हरुलाई आम नागरिकले गिज्याइरहेको बताएका हुन् ।
उनले कुलिङ पिरियडमा दुई वर्ष हुनु हुँदैन भनेर भैलो खेल्न गएकाहरु पनि यसको छानविनको दायरामा आउने बताए । उनले यो घटना सामान्य नभएको बताउँदै सिंगो सदनको अवहेलना भएको बताएका छन् । सांसद् घिमिरेले अधिकार सम्पन्न छानविन समिति निर्माण गरेर दोषीउपर कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हौँ भन्न पनि लाज लाग्न थाल्यो ।
नागरिकबाट यति धेरै गालीको वर्षा भएको छ, यो सामान्य खालको घटना होइन । समितिको मात्र होइन, सिंगो संसदको अवहेलनाको काम गरेका छन् ।’ सांसद् घिमिरेले आम नागरिकले सांसदहरुले छलकपट गरेर ऐन पारित गरेको भन्दै आफूहरुको बेइज्जत गरिएको बताए ।
