आज संसद दिवस
काठमाडौं । ६७ औँ संसद दिवस सोमबार मनाइँदै छ । २०१६ साल असार १६ गते नेपालको पहिलो संसद्को बैठक बसेको सम्झनामा यो दिवस मनाउन लागिएको हो । नेपालको पहिलो संसदको पहिलो बैठक सिंहदरबारस्थित ग्यालरी बैठकमा राति ११ बजेर ४५ मिनेट बोलाइएकोमा सभा मध्यरात १२ बजे आरम्भ भएको इतिहास छ ।
डेढ वर्षे अवधिमा बसेको दुई अधिवेशनअन्तर्गत एक बैठकमा एक सांसद्ले अर्को दललाई लक्ष्य गरी सामान्य आरोप लगाएवापत केही मिनेट अवरुद्ध भए पनि पुनः सञ्चालन भयो, अर्को अवरोध कहिल्यै भएन ।
१०९ सदस्यका लागि २०१५ फागुन ७ गते मतदान शुरु भएकामा साढे दुई महिनापछि अर्थात् २०१६ वैशाख २१ गते अन्तिम नतिजा प्रकाशन भएपछि संसद् बैठक असारमा बोलाइएको थियो । नतिजानुसार नेपाली कांग्रेसले ७४, नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९, संयुक्त प्रजातान्त्रिक पार्टी नेपालले पाँच, नेपाल कम्युनिस्ट पार्टीले चार, नेपाल प्रजापरिषद् (आचार्य) ले दुई र नेपाल प्रजा परिषद् (मिश्र) ले एक स्थान जितेका थिए भने स्वतन्त्र चारजनाले पनि संसदमा प्रतिनिधित्व गरेका थिए ।
प्रथम संसद्ले १८ महिना पार नगर्दै २०१७ मा संसदीय व्यवस्था विघटनपछि मुलुक निर्दलीय व्यवस्था लागु भई एक सदनात्मक राष्ट्रिय पञ्चायतको अभ्यासमा गएको थियो। ४६ सालको जनान्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भई प्रतिनिधिसभा र राष्ट्रियसभा नामबाट ‘संसद्’ को पुनःबहाली भयो। नेपालको अन्तरिम संविधान, २०६३ मा भने ‘व्यवस्थापिका–संसद्’ नामकरण भई २०७२ को ‘नेपालको संविधान’ पछि प्रतिनिधिसभा र राष्ट्रियसभासहितको द्विसदनात्मक ‘संघीय संसद्’ मा रूपान्तरण भएको छ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा २७५ सदस्य प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् भने राष्ट्रियसभामा निर्वाचित र राष्ट्रपतिबाट मनोनीत गरी ५९ सदस्य रहन्छन् ।
