sevenstartv.com १५ असार २०८३, सोमवार

रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा

आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग

१२ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत गएका छन् ।ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका हुन् ।

न्यायाधीश कुमार रेग्मीको इजलासले उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित गरेका ढकालले आफूले मूलतस् दुईवटा माग राखेको बताए ।

तर, सर्वोच्च अदालतको वेवसाईटमा भने ढकालको रिट निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाएको देखिंदैन । त्यसबाहेक रास्वपामा आफूलाई महामन्त्रीको रुपमा काम गर्न नदिइएको भन्दै उनले महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने अर्को माग पनि राखेको बताए । उनले त्यसका लागि रास्वपा, त्यसको केन्द्रीय कार्यसमिति, कारागारमा रहेका सभापति रवि लामिछाने महामन्त्रीमा नियुक्त कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतलाई विपक्षी बनाएका हुन् ।

निर्वाचन आयोगले गतसाता ढकालका नाममा एक पत्र पठाइ उनी नै रास्वपाका महामन्त्री रहेको विवरण उपलब्ध गराएको थियो । निर्वाचन आयोगको सूचना सार्वजनिक भएलगत्तै रास्वपाले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको थियो । त्यसका साथै उसले फेरि अर्को विवरण आयोगमा पठाएको छ, जुन अहिलेसम्म अद्यावधिक भएको छैन ।

सम्बन्धित समाचार