सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने
काठमाडौं । सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले यो घोषणा गरेका हुन् । उनले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताए ।
लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने जानकारी दिएका छन् । गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरु बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकको भनाइ छ ।
उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको बताएका हुन् । देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषधको दुव्र्यसनी, भण्डारण, ओसारपसार गर्नेहरु रहेको बताए ।
