प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको रास्वपाकाे गुनासो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरूले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको बताएका छन् ।
‘भिजिट भिसा’ प्रकरणको उठाई संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले भने, 'हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ, उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो। त्यसपछि हामी पनि निस्क्यौँ ।'
प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसद्हरूले विरोधस्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित भएका थिए । नीलो रिबन विश्वव्यापी रुपमा मानव तस्करीको विरोधस्वरूप सङ्केत मानिन्छ ।
