आज साउनको तेस्रो सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड
काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
सोमबारको अवसरमा काठमाडौंको पशुपतिनाथमा आज बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएका छन् ।पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ ।
उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
