सप्तरीमा डाँका समूहद्वारा गोली हानी एक जनाको हत्या, एक घाइते

काठमाडौं । सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । एक जना घाइते भएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका-८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको हो । कान्तालालका भाइ रामाकान्त घाइते छन् । उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको छ ।
घटना शुक्रबार बिहान करिब १ बजे तिरको हो । ४-५ जनाको डाँका समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए । लुटपाटको प्रतिकार गर्दा घर धनी कान्तालाल चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र ५०र६० हजार नगद समेत लुटपाट गरेर फरार भएको स्थानीयले बताएका छन् ।
डाँका समूहले आक्रमण गरेको जानकारी शुक्रबार बिहान १ः२० बजे पाएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत फेला पारेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।