राप्रपाको प्रदर्शन सम्पन्न, पार्टी कार्यालयमा आकस्मिक बैठक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को आह्वानमा आइतबार राजधानीमा गरिएको प्रदर्शन सम्पन्न भएको छ । राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए ।
सो क्रममा बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरा नजिक पुगेर कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका थिए । उता सिंहदबारस्थित संसदीय दलको कार्यालयमा भेला भएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।
उनीहरूले सिंहदबारमा पर्चासहित प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकाहरुमा लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही रहेका छन् । उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी अध्यक्षसहितका नेताहरु पक्राउ परेसँगै अपराह्न ४ बजेपछि बस्नेगरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक तय गरिएको जनाइएको छ ।
