कांग्रेसको असन्तुष्ट समूहको राष्ट्रिय भेलामा देउवाको सहभागीता हुने संकेत : भेला नरोकिने
नेपाली कांग्रेसको असन्तुष्ट समूहले शशांक कोइरालाको नेतृत्वमा यही साउन २९ मा राष्ट्रिय भेला गर्दै छ । सो भेलामा पूर्वसभापति शेर बहादुर देउवाको सहभागी हुन संकेत गरिएको छ । विभाजनको संघारमा पुगेको सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खोलेसँगै तत्काल विभाजन हुने सम्भावना कमजोर बनेको छ ।
अदालतको आदेश र आधिकारिकतासम्बन्धी विवादको अन्तिम टुंगो नलाग्दासम्म अर्को निर्णयमा पुग्ने परिस्थिति तत्कालका लागि टरेको संस्थापन असन्तुष्ट समूहका नेताहरू बताउँछन् भने उक्त भेला रोक्न अधिकार कांग्रेस संस्थापन पक्षलाई नहुने भएको छ ।
सर्वोच्चले आधिकारिकतासम्बन्धी मुद्दालाई पुनरावलोकनको अनुमति दिए सँगै असन्तुष्ट समूहले यसअघि नै आह्वान गरेको राष्ट्रिय भेला नरोकिने बताएको छ । भेला आयोजना भए पनि कुनै अन्य निर्णय नहुने असन्तुष्टका नेताले बताएका छन् ।
असन्तुष्ट समूहले तीन दिने राष्ट्रिय भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेर कामहरू गरिरहेको छ । मूल आयोजक समितिले आन्तरिक तयारीका लागि ३२ वटा समिति गठन गरेर संयोजकहरू चयन गरि कार्य विभाजन सहित भेलाको तयारीलाई तिव्रता दिइएको छ ।














