मौलिक हक, मानवअधिकार र कानून कार्यान्वयनको अवस्थाबारे सांसद्हरुको चासो
मानवअधिकारको क्षेत्रको विषयमा पनि संवेदनशील हुनुपर्ने धारणा
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिका सदस्यहरूले मौलिक हक, मानवअधिकार र कानून कार्यान्वयनको अवस्थाबारे चासो व्यक्त गरेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूले मौलिक हक, मानवअधिकार र कानून कार्यान्वयनको अवस्थाबारे चासो व्यक्त गरेका हुन् । बैठकमा नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले समितिमा आएका विधेयकहरू पारित गरिसकेको बताउँदै मानवअधिकारको क्षेत्रको विषयमा पनि संवेदनशील हुनुपर्ने बताएकी हुन् ।
उनले १८ वर्ष नपुगेका अवस्थामा बन्दी गृहमा पठाइएका नाबालकहरू २८ वर्षको पुग्दा पनि त्यही बन्दीगृहमा बस्दा घटनाहरू घटेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयनको अवस्थाबारे चासो व्यक्त गरेका छन् ।
बैठकमा जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले सम्पती शुद्धीकरण निवारण ऐनमाथि दिनरात नभनी काम गर्दा पनि नेपाल ग्रे लिस्टमा पर्नु दुःखद् भएको बताएकी छन् ।
