तीनकुनेमा घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित गरिएको गृहमन्त्रीको आरोप
काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताएका छन् ।
शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।
उनले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरु भएको बताए । उनले राजावादी समूहले शान्तीपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पती तोडफोड आगजनीमा उत्रिएको बताएका छन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति, फागुन २५ को प्रदर्शन तथा राजावादी नेताहरुले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको बताए ।
