sevenstartv.com ५ असार २०८३, शुक्रवार

मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सञ्चालनमा ल्याउन प्राधिकरणको ताकेता

पानी चुहिएको सुरुङ मर्मत चाँडो सक्न आग्रह

३ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।

प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरण परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । 

हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ । १०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिँदयामको माग बमोजिम विद्युत् आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्त्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत कम्पनीका सीईओ एवम् मध्यभोटेकोशी जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाषकुमार मिश्र सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसनको अनुगमन भ्रमण गरी निर्माण प्रगतिका विषयमा जानकारी लिएको छ । योजनाबाट उत्पादित विद्युत् प्रवाह हुने तामाकोशी-काठमाडौं केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । 

प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरु खडा भइसकेका छन् । करिब एक किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ । ४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई तत्काल २०० केभीमा सञ्चालनमा ल्याएर मध्यभोटेकोसीको विद्युतलाई राष्ट्रिय प्रसारण ग्रीडमा समाहित गरिनेछ ।