मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।
आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो । नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का गरिएको छ । उक्त बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको जिल्ला वन कार्यालय चितवनले जनाएको छ ।
ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट बेहोस गर्ने योजना छ । नारायणी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको छ । सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्कोतर्फ नारायणी नदी पर्दछ ।
आज बिहान हिँड्ने क्रममा भरतपुर महानगरपालिका वडा नं २ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । आज बिहान ५ः२० बजे बिहान भरतपुर-१ नारायणी किनारमा बाघले श्रेष्ठलाई आक्रमण गरेको हो । चितवन मेडिकल कलेज सिएमसी शिक्षण अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।

.gif)