संसदमा रास्वपा र राप्रपाको अवरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदन अवरोध गरेका छन् ।
आजको प्रतिनिधिसभामा आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालको माइक सभामुखले बीचमै काटिदिएपछि अवरोध उत्पन्न भएको हो । प्राकृतिक प्रकोपबाट सडक अवरोध भएको विषय उठाएर डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरी महसुल तिर्न अटेर गरिरहेका उद्योगहरूको विषय उठाउन लागेका वेला सांसद् ढकालको माइक काटिएको थियो ।
सभामुखले देवराज घिमिरेले टिपाइएको विषयभन्दा बाहिर बोल्न पाइँदैन भन्दै माइक काटेपछि रास्वपा र राप्रपा सांसहरूले उठेर विरोध जनाएका हुन् । सभामुखले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए । उनले विद्युत् महसुल तिर्न अटेर गर्नेहरूको विषय आकस्मिक नै हुने भएकाले हरि ढकाललाई नै बोल्न समय दिन भने ।
बोल्ने समय पाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि बोल्न पाउने सांसद्को हक सभामुखले हन्न गर्न खोजेको भन्दै आपत्ति जनाए। उनले भने, ‘हामीले जुन आकस्मिक समय प्राप्त गर्छौं। योपटक परम्परा बिगारेका छौं। सदनलाई यो मात्रै बोल्न पाउँछौं भनेर गरिएको व्यवस्था मान्य हुँदैन । जनताको प्रतिनिधिले आफ्नो कुरा राख्छन्‚ त्यो संसद् नियमवाली विपरीत छ भने रोक्नु ठिक छ तर यो पाउँछौं त्यो पाउँदैनौं भनेर सभामुखले निर्धारण गर्ने होइन।’
