सुनसरी घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन हुनुपर्छ : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् नेपाली कांग्रेसको प्रतिनिधि सभामा संसदीय दल नेता भीष्मराज आङदेम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका ३ कप्तानगञ्जको घटनाबारे निष्पक्ष, स्वतन्त्र र पारदर्शी तरिकाले छानबिन हुनु पर्नेमा जोड दिएका छन् ।
उनले शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी रहेको औल्याएका छन् । संवेदनशील अवस्थामा सबै पक्षले उच्चतम संयतता अपनाउनु पर्नमा जोड दिँदै उनले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधले कुनै पनि समस्याको समाधाननहुने भएकाले दुवै समूहलाई शान्त रहन, सहिष्णुता कायम राख्न र आपसी सद्भाव जोगाउनका लागि आग्रह गरेका छन् ।
उनले सुरक्षाकर्मीले कानुनको पालना गर्दै अधिकतम संयतता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने उनको भनाई छ ।
शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी रहेको भन्दै उनले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ र तत्काल गृहमन्त्रीले यस घटना बारे जनतालाई चित्त बुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।
रास्वपाको बहुमतमा बनेको सरकारप्रति तमाम नागरिकहरूमा तीव्र असन्तोष पैदा हुनु चानचुने कुरा नरहेको औंल्याउँदै उनले भनेका छन्, ‘परिणामतः आत्मदाह गर्ने जस्ता भयावह घटना, समाजमा शान्ति सुरक्षा र सहिष्णुतासँग सम्बन्धित संवेदनशील घटनाहरू बारम्बार दोहोरिनु सरकार कौशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नबाट चुकेको देखिन्छ ।
साथै, जिम्मेवार व्यक्तिहरूले यस्तो संवेदनशील बेलामा सामाजिक सञ्जालबाट थप असहिष्णुता फैल्याउने कार्य गर्न हुँदैन।’ सबैको साझा दायित्व शान्ति, सामाजिक सद्भाव र आपसी विश्वासलाई जोगाउनु भएकाले कुनै पनि उक्साहट वा अफवाहको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
सरकारले संकटको घडीमा संयमता अपनाउनु पर्नेमा जोड दिँदै उनले देश र जनताका लागि बनेको सरकार हो भन्ने अनुभुती जनताले गर्न पाउनु पर्ने उल्लेख गरेका छन् ।


















