सुनसरीका सुरक्षा प्रमुखहरुको जिम्मेवारी हेरफेर
घटनाको छानबिन गर्न गृह सहसचिव थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन
काठमाडौं । सुनसरी अचानक घटेको घटना र सो पश्चात उत्पन्न भएको समस्या र तनावका कारण गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाइयो एको छ ।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई तानिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं बोलाईएको छ भने, प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयमा खटाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता डाकिएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा गोली लागेर एकजनाको निधन भएको थियो । घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् ।
घटनाको सत्य तथ्य छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। सो समितिलाई एक साताको समय सीमा तोकिएको छ ।



















