परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरू लगायतबारे छलफल भएको हो ।
वार्ताका क्रममा मन्त्री डा. राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत् भारत सरकारसँग कुरा उठाएकी थिइन् । नेपालले खासगरी भैरहवा र पोखरा विमानस्थल नियमित सञ्चालनमा हवाई रुटको चुनौती भोगिरहेको छ । यी दुवै विमानस्थलमा आउने जहाजले सिमरा रुटकै भर पर्नुपरेको छ ।
भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउनेबारे मन्त्री राणाले उठाएको विषयमा धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने गरी छलफल भएको छ । मन्त्री डा. राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलाको पुल उद्घाटनबारे पनि छलफल गरेकी थिइन् ।
