पूर्णबहादुर र शेखरसँग गगनको छुट्टाछुट्टै छलफल , पार्टीभित्रको आन्तरिक समस्या समाधानमा गगन 'सक्रिय'
काठमाडौं -नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरू गर्नुअघि पार्टीभित्रको मतभेद मिलाउन अन्तिम प्रयास सुरू गरेका छन्।
यसअन्तर्गत सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच शनिबार बेलुकी भेटवार्ता भएको थियो। भेटवार्ता सकारात्मक रहेको उनले बताए।सभापति थापाले आज बिहान ११ बजे नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। खड्का र कोइराला गत पुसको विशेष महाधिवेशनमा सहभागी थिएनन्।विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने बेग्लै महाधिवेशन गर्न कार्यतालिका पनि जारी गरेका छन्। कार्यतालिका जारी गर्ने चुनदेवी बैठकमा सहभागी नरहेका खड्का र कोइरालासँग सभापति थापाले कुराकानी गरेका हुन्।भदौ २४ गतेदेखि वडा अधिवेशन सुरू हुने कार्यतालिका छ।त्यसअघि सभापति थापाले देउवा, खड्का र कोइरालासँग भेटवार्ता गरी पार्टी एकताको अन्तिम प्रयास गर्ने छन्। निवर्तमान सभापति देउवासँग यसअघि सभापति थापाले भेट्न खोजे पनि देउवा पक्षबाट समय उपलब्ध भएको थिएन।यसबीच सर्वोच्च अदालतले १५ औं महाधिवेशन कार्यतालिका रोक्न अन्तरिम आदेश दिएन। त्यसपछि असोज १६ देखि १९ गतेसम्म पूर्वनिर्धारित कार्यतालिकामै महाधिवेशन गर्ने तयारी कांग्रेसको छ।तर संस्थापनइतर पक्षसँग सहमति बनेका खण्डमा तल्ला तहका अधिवेशन कार्यतालिका संशोधन गर्न कांग्रेस तयार देखिन्छ। संस्थापनइतर पक्षका नेताहरूसँग सहमति जुटे अधिवेशन कार्यतालिका फेरबदल हुन सक्छ।देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइराला संयोजक बनाएर १५ औं महाधिवेशन तयारी समिति गरी बैठकहरू गर्दै समानान्तर गतिविधिसहित महाधिवेशन कार्यतालिका पनि जारी गरिसकेका छन्। केही नेताहरू भने बाढी पहिरोलगायत कारण अधिवेशन केही समय सार्नुपर्ने पक्षमा छन्।’देश र कांग्रेस जोड्ने अभियान’ चलाइरहेका नेता नैनसिंह महरले मुलुक अहिले बाढी पहिरो विपद्को समयमा रहेकोले अधिवेशन मिति केही सार्नु उपयुक्त हुने बताए। ‘दसैंपछि १५ औं महाधिवेशन गर्ने गर्नु उपयुक्त हुने उनको तर्क छ ।











