'बहुमतको बलमा संविधान संशोधन गर्दैनौँ'
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताएका छन् ।
विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपुरो भएको कुरालाई पूर्णता दिन संविधान संशोधन गर्ने बताएका हुन् ।
अधिकार दिने कुराहरुमा भएका कमी कमजोरी सच्याउन र समाजका असन्तुष्टिहरुलाई सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएको उनले स्पष्ट पारे । कांग्रेस जनतालाई अधिकार दिलाउन लडेको पार्टी भएको भन्दै जनतालाई दिएको अधिकार फिर्ता लिनेबारे नसोच्ने उनले बताए ।
उनले २०७२ सालमा ल्याएको संविधानले दिएको अधिकार कटौती गर्न लागिएको भन्ने गलत व्याख्या भइरहेको भन्दै त्यस्तो नहुने आश्वासन दिए । उनले ०७२ को संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न र कमी कमजोरीहरु सच्याउनकै लागि संविधान संशोधन गरिने बताएका छन् ।
