sevenstartv.com ९ भदौ २०८३, मङ्गलवार

महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय

४ भदौ २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं -नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ ।

महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न कानुनी बाटो रोज्ने निर्णय गरेको हो ।

बैठकपछि संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले महाधिवेशन रोक्न माग गर्दै शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा पुनः सुनुवाइ हुने अवस्थामा रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने समूहको निष्कर्ष छ ।

कांग्रेसले भने १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार वडा अधिवेशन आगामी २४ भदौमा हुँदैछ ।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने पूर्वनिर्णयलाई कायमै राखेको छ । सोहीअनुसार तल्लो तहका अधिवेशनको कार्यतालिकामा भने केही हेरफेर गरिएको छ ।

संस्थापन इतर समूहको अदालत जाने निर्णयसँगै कांग्रेसको महाधिवेशन प्रक्रिया थप विवादित बन्ने देखिएको छ । अब अदालतमा दायर हुने निवेदन र त्यसबाट आउने आदेशले महाधिवेशनको आगामी कार्यतालिकामा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्