sevenstartv.com १ जेठ २०८३, शुक्रवार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा २० पर्वतारोही बेपत्ता

२५ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’ मा ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएको जनाइएको छ । सरकारी अधिकारीहरूका अनुसार बेपत्ता हुनेहरूमा नौ जना सिंगापुरका नागरिक रहेको बताइएको छ । करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धूवाँधूलो फैलिएको जनाइएको छ ।

ज्वालामुखी विस्फोट भएको स्थानमा उद्धार टोली उद्धारका लागि तैनाथ रहेको उल्लेख गर्दै अधिकारीले घाइते व्यक्तिहरूबारे अझै पुष्टि नभएको जानकारी गराएका छन्। बेपत्ता भएका २० जनाको खोजी कार्यलाई तिव्रता दिँदै स्थानीय उद्धार अधिकारी इवान रामदानीले पुष्टि गरेका छन् ।

वैज्ञानिकहरूले पछिल्लो समयमा इन्डोनेसियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिएसँगै १७ अप्रिलदेखि आगन्तुकहरूका लागि सो क्षेत्र बन्द गरिएको भए तापनि बेपत्ताहरू सबै पर्वतारोही रहेको जनाइएको छ ।

इन्डोनेसियाको भूविज्ञान विभागका प्रमुख लाना सारियाले विस्फोटले उत्तरी मालुकु प्रान्तको माउन्ट डुकोनोको शिखरबाट करिब १० किलोमिटर टाढाको क्षेत्रसम्म प्रभाव गरेको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, विस्फोटको खरानी उत्तरतर्फ धेरै फैलिएको छ यसतर्फका आवासीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिन्छ ।

इन्डोनेसिया एक विशाल द्वीप समूहहरूको राष्ट्र र यसको भौगोलिक स्थितिका कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी गतिविधिको सामना गर्ने गरेको उल्लेख गरिएको छ । त्यसमध्ये पनि माउन्ट डुकोनोमा त्यस्तो जोखिम उच्च रहेको बताइन्छ ।

सेन्टर फर भोल्कानोलोजी एन्ड जियोलोजिकल हजार्ड मिटिगेसन (पिभिएमबिजी) ले गत डिसेम्बरदेखि नै पर्यटक तथा पर्वतारोहीलाई ज्वालामुखीको चार किलोमिटरभित्रमा नआउन सिफारिस गरेको छ ।

सम्बन्धित समाचार