सैन्य सहयोग कमजोर हुन सक्ने जेलेन्स्कीको चिन्ता
काठमाडौं । मध्यपूर्वमा चर्किँदै गएको युद्धले युक्रेनलाई अन्तर्राष्ट्रिय प्राथमिकताबाट पछाडि धकेल्न सक्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चिन्ता व्यक्त गरेका छन् ।
उनका अनुसार इरान केन्द्रित अमेरिकी–इजरायली सैन्य संलग्नता लम्बिँदै जाँदा अमेरिकाको ध्यान विभाजित भइरहेको छ जसले युक्रेनका लागि आवश्यक सैन्य सहयोग अझ कमजोर हुनसक्ने सङ्केत देखिएको छ । टर्किएको इस्तानबुलमा अन्तर्राष्ट्रिय समाचार संस्था एपीसँगको विशेष अन्तर्वार्तामा जेलेन्स्कीले लामो समयसम्म इरानसँगको युद्ध चलिरहे युक्रेनले पाउने सहयोग झन् घट्ने चिन्ता व्यक्त गरे । युक्रेनले रुसको निरन्तर आक्रमणको सामना गरिरहँदा विशेषगरी अमेरिकी ‘पेट्रियट’ हवाई रक्षा प्रणालीको आवश्यकता अत्यन्तै बढेको उने बताए ।
यी प्रणालीहरू रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न महत्त्वपूर्ण मानिन्छन् तर अहिलेसम्म पर्याप्त सङ्ख्यामा उपलब्ध भएको छैन् । चार वर्षअघि शुरू भएको रुसी आक्रमणपछि युक्रेनका शहरहरू निरन्तर निशानामा परिरहेका छन् । ऊर्जा पूर्वाधारमा आक्रमण हुँदा औद्योगिक उत्पादनमा अवरोध आएको छ । गएको फेब्रुअरीमा रुस र युक्रेनबीच अमेरिकाको मध्यस्थतामा भएको वार्ता निष्कर्षविहीन बनेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले वार्ता लम्ब्याउने रणनीति अपनाएको आरोप लगाउँदै सम्भावित शान्ति सम्झौताका लागि अमेरिकी पक्षसँग निरन्तर सम्पर्कमा रहेको बताए ।
मध्यपूर्व युद्धको प्रभाव केवल कूटनीतिक तहमा मात्र नभई आर्थिक र सैन्य सन्तुलनमा पनि देखिएको छ । इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध सिर्जना गरेपछि तेलको मूल्य बढेको छ जसबाट रुसलाई अतिरिक्त आम्दानी भइरहेको जेलेन्स्कीले उल्लेख गरेका छन । यसले रुसको अर्थतन्त्र कमजोर पार्ने युक्रेनको रणनीतिक उद्देश्यलाई चुनौती दिएको छ । स्रोतको अभाव बढ्दै जाँदा युक्रेनले युरोपेली साझेदारहरूसँग सहकार्य विस्तार गर्ने प्रयास गरेको छ ।
गएको मार्च अन्त्यतिर जेलेन्स्कीले खाडी क्षेत्रको भ्रमण गर्दै रक्षा सहकार्य विस्तार गर्ने प्रयास गरेका थिए । त्यस्तै विश्वव्यापी व्यापार मार्गको सुरक्षामा सहयोग पु¥याउने प्रस्तावस्वरूप ‘स्ट्रेट अफ हर्मुज’ खुलाउन युक्रेनको अनुभव उपयोगी हुन सक्ने उनको धारणा छ ।
