केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले लिए बयान
काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले बयान लिएका छन् । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा प्रहरीको घेरामा उपचाररत छन् । अनुसन्धान अधिकृत र अभियोजनकर्ता सरकारी वकिलले अस्पतालमै ओलीसँग बयान लिएका हुन् ।
ओलीसँगको बयान पूरा भएको छ । अनुसन्धान अधिकृतहरूले ओलीलाई ३५ भन्दा धेरै प्रश्न गरेका छन् । उनले भदौ २३ मा काठमाडौँको बानेश्वरमा किशोरहरूको मृत्यु हुनेगरी लेथल हतियारबाट गोली चलाउने आदेश आफूले दिएको अस्वीकार गरेका छन् । जेनजी आन्दोलनबारे भदौ २२ मा राति सुरक्षा निकायसँग छलफल गरेको बताउँदै ओलीले त्यसबेला आफूलाई ‘६-७ हजार जेनजी भेला हुने र प्रदर्शन शान्तिपूर्ण हुने’ भनेर ब्रिफिङ गरिएको जिकिर गरेका छन् ।
हुलदङ्गा नियन्त्रण गर्दा हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिइएको ओलीले बयानमा बताएका छन् । बिहीबार राति १२ बजेतिर ओलीसँगको बयान पुरा भएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेर्ले बताए ।बयानमा ओलीले प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार नै नहुने जिकिर गरेका छन् ।
