सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्ने रास्वपाका उपसभापति अर्यालको प्रतिबद्धता
काठमाडौं । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानुनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने बताएका छन् । उनले शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने बताएका हुन् ।
अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने समेत बताए । उनले आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि भएको स्पष्ट पारे ।
सभामुखको निर्वाचन प्रक्रिया अघि बढिरहेको सन्दर्भमा रास्वपाले आफ्नो तर्फबाट उपसभापति अर्याललाई अघि सारेको हो । अर्यालले आफ्नो कार्यकालमा व्यवस्थापकीय कार्यहरुलाई पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता समेत दोहोर्याए ।
