जापानबाट २३ विद्यार्थी एसईई परीक्षामा सहभागी
काठमाडौं । जापानमा नेपाली पाठ्यक्रमअनुसार कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको एभरेष्ट इन्टरनेशनल स्कुल, जापानका छैटौँ ब्याचका विद्यार्थीहरू यस वर्षको एसईईमा सहभागी भएका छन् । आजबाट सुरु भएको उक्त परीक्षामा विद्यालयका कुल २३ जना विद्यार्थीले भाग लिएका छन् ।
विद्यालय प्रशासनका अनुसार यस वर्ष ९ जना छात्र र १४ जना छात्रा गरी जम्मा २३ जना विद्यार्थी सहभागी भएका हुन्। सन २०२१ देखि निरन्तर रूपमा विद्यालयका विद्यार्थीहरूले एसईई परीक्षा दिँदै आएका छन् ।
एभरेष्ट इन्टरनेशनल स्कुल, जापान नेपाल सरकारको मान्यताप्राप्त नेपाल बाहिर सञ्चालन भइरहेको एक मात्र नेपाली सरकारी उच्च माध्यमिक विद्यालय हो, जहाँ कक्षा १२ सम्म अध्ययन अध्यापन सञ्चालन हुँदै आएको छ । विद्यालयले जापानको शिक्षा मन्त्रालय तथा अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डअनुसार पनि आफ्नो शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको छ ।
