ट्रम्पको नीति, महँगी र इरान युद्धविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन
लाखौ जनता अमेरिकाको सडकमा उत्रिए
काठमाडौं । पश्चिम एसियामा एक महिनादेखि जारी युद्धले विश्वभर थुप्रै चिन्ता जन्माएको छ । यो युद्ध अब ३०औँ दिनमा प्रवेश गरिसकेको छ र खाडी क्षेत्रमा तनाव अझै पनि चरम सीमामा छ ।
यसैबीच अमेरिकाका धेरै भागमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान युद्ध नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शन भएको छ । यो प्रदर्शनमा लाखौँ मानिसले हिस्सा लिएका छन् । यस क्रममा मानिसहरूले राष्ट्रपति ट्रम्पका नीतिहरू, बढ्दो महँगी र इरानसँग जारी युद्धका विरुद्ध आवाज उठाएका छन् । प्रदर्शनहरू सबै ठूला सहर र साना नगरहरूमा भए, जसमा रिपब्लिकन र डेमोक्रेट दुवै पार्टीका मानिसहरू सामेल थिए ।
प्रदर्शनकारीहरूले नारा लगाउँदै प्लेकार्डहरू प्रदर्शन गर्नुका साथै, नाचगान एवं संगीतका माध्यमबाट आफ्ना कुरा राखेका थिए । यस क्रममा न्युयोर्क सिटीमा मानिसहरू मिडटाउन म्यानहटनबाट मार्च गरिरहेका थिए ।
आप्रवासन, ट्रम्प प्रशासन र इरान संघर्षका विरुद्ध प्लेकार्डहरू बोकिरहेका थिए । सान फ्रान्सिस्कोमा मानिसहरू एम्बार्काडेरो प्लाजाबाट सिभिक सेन्टरतर्फ मार्च गरिरहेका थिए । अमेरिकी झन्डाका साथै युक्रेन र ट्रान्सजेन्डर अधिकारजस्ता विभिन्न आन्दोलनहरूको समर्थनमा ब्यानरहरू देखाइरहेका थिए ।
