नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा वरियतामा ७ स्थान सुधार
१७५औं स्थानमा पुग्यो
काठमाडौं । पछिल्ला ५ खेलमा नतिजा दिन नसकेको नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा वरियतामा ७ स्थान सुधार गरेको छ । फुटबलको सर्वोच्च निकाय फिफाले आइतबार राति आफ्नो अफिसियल वेभसाइडमा सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७५औं स्थानमा पुगेको हो ।
आधिकारिक वरियता भने १ अप्रिलमा सार्वजनिक गरिने फिफाले जनाएको छ । नेपाल यसअघि १८२औं स्थानमा थियो । नेपालले पछिल्ला ५ खेलमा ३ हार र २ बराबरी खेलेको छ । ६ सेप्टेम्बर २०२५ मा बंगलादेशसँग घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो । ९ र १४ अक्टोबर २०२५ मा भएको एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको दुई खेलमा क्रमश ३–१ र १–० को हार बेहोरेको थियो ।
यस्तै, १३ नोभेम्बर २०२५ मा बंगलादेशसँग भएको अर्को मैत्रीपूर्ण खेलमा २–२ को बराबरी खेलेको थियो । १८ नोभेम्बर २०२५ मा एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँगको खेलमा भने नेपाल १–० ले पराजित भएको थियो ।
