जय ट्रफी एलाइट कपको फाइनल खेल आजदेखि सुरु हुँदै
उपाधिका लागि त्रिभुवन आर्मी र पुलिस क्लब भिड्ने
काठमाडौं । जय ट्रफी एलाइट कपको फाइनल खेल आजदेखि सुरु हुँदैछ । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
खेल मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । फाइनल खेल तीनदिवसीय हुनेछ । यसअघि लिग चरणको खेल दुई दिनको भएको थियो । चार टोलीले प्रतिस्पर्धा गरेको जय ट्रफीमा सिंगल राउण्ड रोविनको खेलपछि आर्मी र पुलिस शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् ।
लिग चणमा आर्मीले पुलिसलाई ९ विकेटले पराजित गरेको थियो । फाइनलमा पुलिस त्यसको बदला लिने लक्ष्यमा छ । जय ट्रफी फाइनलको मिति दोस्रो पटक परिवर्तन भएको हो । यसअघि फागुन १७ देखि १९ सम्म फाइनल खेल हुने तय थियो ।
तर २१ फागुनको निर्वाचन र फागुन २६ देखि हुने तय भएको लिग २ सिरिजका लागि जय ट्रफी फाइनल खेल एक महिना पछाडि सार्दै चैत २१ देखि २३ सम्म खेलाइने भएको थियो । तर मध्यपूर्व युद्धका कारण लिग २ सिरिज नै स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफी फाइनल अघि सारेको हो ।
