रवि र प्रचण्डबीच निर्वाचनपछि पहिलो पटक टेलिफोन वार्ता
ओलीलाई पनि आजै भेटे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । रास्वपा वरिष्ठ नेता बालेन शाहसँग भने कुराकानी÷भेटघाट पुष्टि भएको छैन । यसअघि प्रचण्ड र बालेनबीच भेटघाट भएको समाचार सार्वजनिक भएको थियो ।
तर नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले बालेनसँग भेटघाट भएको भनेर आएका समाचार सत्य नभएको बताउनुभयो । प्रचण्डको स्वकीय सचिव समेत भइसकेका आचार्यका अनुसार प्रचण्ड र रविबीच चुनाव जितिसकेपछि मोबाइल फोनमा कुराकानी भएको थियो । त्यसक्रममा चुनाव जितेकोमा एकअर्काले बधाई दिएका थिए ।
त्यसबाहेक अरु केके कुरा भयो भन्ने खुलेको छैन । पछिल्लो पटक बालेनका बुवा रामनारायण शाहको निधनमा समवेदना व्यक्त गर्न उनकै घर पुगेका बेला प्रचण्ड र बालेनबीच भेट भएको थियो । प्रतिनिधि सभा निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पहिलोपटक आज भेट भएको छ ।
ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन आज बिहान प्रचण्ड नेपाल–कोरिया मैत्री अस्पताल गठ्ठाघर पुगेका थिए ।
