शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
काठमाडौं । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्ति सैनिकको सुरक्षामा जोड दिएको छ ।
लेबनानमा कार्यरत संयुक्त राष्ट्रसंघीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित गरिनुपर्नेमा नेपालले जोड दिएको न्युयोर्कस्थित राष्ट्रसंघका निम्ति स्थायी नियोगले जनाएको छ । हालै दक्षिणी लेबनानमा भएको आक्रमण तीन शान्ति सैनिक घाइते भएका घटनालाई लिएर राष्ट्रसंघका सदस्य मुलुकसँगै नेपालले उनीहरूप्रति दृढ समर्थन जनाउँदै सुरक्षामा जोड दिएको हो ।
नेपालले शान्ति सैनिक कहिल्यै आक्रमणको लक्ष्य हुनु हुँदैन भनेको छ । साथै, सरकारले राष्ट्रसंघका कर्मचारीविरुद्ध भएका आक्रमणको कडा निन्दा गरेको छ । घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ ।
