बेरुतको समुद्र तटमा हवाई आक्रमण
काठमाडौं । बेरुतको समुद्रतटीय क्षेत्र रमलेत अल–बैदामा भएको हवाई आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । यस घटनामा अरु ३१ जना घाइते भएको बताइएको छ ।
लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण बिहीबार स्थानीय समयअनुसार राति करिब १ बजे भएको हो । उक्त क्षेत्र इजरायली आक्रमणका कारण विस्थापित भएका मानिसहरू बस्दै आएको समुद्रकिनार र फुटपाथ रहेको बताइएको छ । समाचार एजेन्सी रोयटर्सले सार्वजनिक गरेको भिडियोमा आक्रमणपछि समुद्रकिनारमा गाडीका सिसा फुटेका, एम्बुलेन्सहरू पुगेका र ठूलो संख्यामा मानिसहरू जम्मा भएको दृश्य देखिएको छ ।
यसैबीच इजरायलले भने लेबनानभरि हिजबुल्लाह सँग सम्बन्धित संरचनामाथि व्यापक हवाई आक्रमण गरेको जनाएको छ । इजरायलले बेरुतको दक्षिणी उपनगरमा रहेका १० वटा भवन पनि आतंकवादी मुख्यालयको रूपमा प्रयोग भइरहेको दाबी गर्दै त्यहाँ पनि हवाई आक्रमण गरेको जनाएको छ ।
