sevenstartv.com २७ फागुन २०८२, बुधवार

जेलबाट छुटे दीपक मनाङे

२७ फागुन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । गण्डकी प्रदेशका पूर्वसांसद एवं मन्त्री दीपक मनाङे (राजीव गुरुङ) कैद सजाय भुक्तान गरेर आज छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका मनाङे सजाय भुक्तान गरेर आज रिहा भएका हुन् ।

उनी उक्त मुद्दामा दोषी भएसँगै गण्डकी प्रदेशको सांसद पदबाट पनि निलम्बित भएकाा थिए । कात्तिक २०८१ मा जेल गएका उनको २३ फागुनमा २० प्रतिशत सजाय छुट दिनेगरी काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । मनाङेले २०१८ फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ ९क० अनुसार २० प्रतिशत छुटका लागि निवेदन दिएका थिए । त्यही निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशसँगै मनाङेको कैद सजायअवधि पनि १ वर्ष घटेको थियो । गत कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे कात्तिक २७ गते सानोभर्‍याङबाट पक्राउ परेर अहिले डिल्ली बजार जेलमा थिए । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य मनाङे प्रदेश सभाको दुई कार्यकालमा ५ वर्ष मन्त्री भएका थिए ।

२०६१ सालमा मनाङे समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएको थियो । उक्त फैसलापछि मनाङे २०७५ साल पुसमा थुनामा गएपछि पुनरावेदन सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०७५ साल पुस ६ गते धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए । मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले गण्डकी प्रदेशमा पटकपटक मन्त्री भए । मनाङेले यसअघि नै २ वर्ष ८ महिना जेल सजाय काटिसकेका छन् । उनले पछिल्लो पटक २ वर्ष ४ महिना जेल सजाय काट्नुपर्ने थियो । उनले छुटअनुसार एक वर्ष जेल बसेर छुटेका हुन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्